हाम्रो बारेमा

 नेपाल फर्कौं महाअभियानको आधिकारिक वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।

नेपाल फर्कौं महाअभियान एक गैर-राजनैतिक अभियान हो । यो अभियानको मुख्य उदेश्य नेपाल फर्किन प्रतिबद्ध तथा चाहना भएका साथीहरुलाई पहिले नेपाल फर्किसकेका साथीहरुसंग एउटै संजालमा जोडेर व्यक्तिगत वा सामुहिक रुपमा मिलेर काम गर्ने र एकअर्काको सहयोगी बन्ने वातावरणको निर्माण गर्नु हो । कैयौं साथीहरुले नेपाल फर्केर आफ्नै बलबुतामा उल्लेखनीय काम नगरेका होइनन्, तर सानो संख्यामा आफ्नै तवरबाट व्यक्तिगत सफलता हासिल गरेपनि सिंगो देश वा समाजको रुपान्तरण गर्न चाहिने धक्का दिन नसक्नु स्वाभाविक नै हो । त्यसैले नेपाल फर्किन प्रतिबद्ध र चाहना राख्ने साथीहरुले पहिले फर्किसकेका व्यक्तिहरु सम्मिलित बलियो संजाल बनाएर देश फर्किन सक्यौं भने हामीहरुले व्यक्तिगत रुपमा मात्र नभएर सामुहिक रुपमै काम गर्न र आफ्नो क्षेत्रमा केहि गर्न खोज्ने साथीहरुको लागि उल्लेखनीय काम गर्न वातावरण निर्माण गर्न सक्नेछौं । यसको साथसाथै बेथिति बिरुद्ध लड्न र समाज रुपान्तरणको लागि चाहिने धक्का दिन पनि सक्षम हुनेछौं भन्ने हाम्रो बिश्वास हो।

यो अभियान विदेशमा बसेका नेपालीलाई औपचारिक रुपमा कुनै लगानी वा जागिरको प्रत्याभूति दिएर गरिएको अभियान होइन। यो हामी सबैको साझा अभियान भएकोले यसलाई अगाडी बढाउन र सफल बनाउन आवश्यक पर्ने योजना र तयारी गर्ने जिम्मा पनि हामी सबैको हो ।

यो अभियान अन्तर्गत हामीले देश फर्किन प्रतिबद्ध र चाहना राख्ने व्यक्तिहरुको अभियान कै लागि वेबसाइट बनाएर अभिलेख राख्नेछौ । यसको आधारमा एउटै प्रकारको क्षेत्र, सिप, चाहना आदि अनुसार विभिन्न ग्रुप बनाएर छलफल गर्दै नेपालमा फर्केर गर्ने कामहरुको सम्भाव्यता र चुनौतीबारे घनिभुत छलफल गरी योजना बनाउने छौं, र फर्किसकेका साथीहरुसंग सूचना आदानप्रदान गर्दै त्यहाँको समस्या, सिमितता, बस्तुगत स्थिति आदिलाई आत्मसात गरेर फर्केर व्यक्तिगत वा सामुहिक रुपमा काम गर्नका लागि साझा मंच तयार गर्नेछौं ।


 

© 2019 Return to Nepal Initiative